Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

कपिलवस्तु जिल्लाको परिचय

 कपिलवस्तु जिल्ला नेपालको ५ नं. प्रदेश अन्तर्गत तराईमा पर्ने एक जिल्ला हो । यस जिल्लाको कूल क्षेत्रफल १७३८ वर्ग कि.मी. रहेको छ । नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, उत्तरमा  अर्घाखाँची, दक्षिणमा भारतको उत्तर प्रदेश तथा पश्चिममा दाङ जिल्ला रहेका छन् । जिल्लाको पूर्व पश्चिम सरदर लम्बाई ५४ कि.मि. र उत्तर दक्षिण चौडाइ ३२ कि.मी.रहेको पाईन्छ । र २७."२५" देखि २७."४९" उत्तरी अक्षांश र ८२."४१" देखि ८३."१४" अक्षांश पुर्वी देशान्तरमा अवस्थित रहेको यो जिल्लाको पुर्व पश्चिम सरदर ३३.५ माइल उत्तर दक्षिण २० माइल रहेको छ । शाक्य वंशीय राजा सुद्धोधनको राजदरबार यसै जिल्लाको तिलौराकोटमा पर्दछ ।  ६ न.पा.,४ गा.पा  ३ निर्वाचन क्षेत्र रहेको यो जिल्ला विभिन्न जातजाति, धर्म र सम्प्रदायको संस्कृतिले भरिपुर्ण रहेको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले यहाँ प्रशस्त तीर्थस्थलहरु रहेका छन् । विभिन्न नदीनाला र तालतलैयाले भरिपुर्ण यस जिल्लाका मुख्य नदीहरुमा कोठी, जमुवार, वाणगंगा, बेल, कुनुरुवा, अर्रा, जवई, सुरईर र तालहरुमा जखीरा, बुड्ढी, लम्बुसागर, निगालीसागर, अजिगरा, बजहा, सगराताल इत्यादि रहेका छन् ।

प्राचीन कपिलवस्तु तिलौराकोट:

तिलौराकोट ऐतिहासिक कपिलवस्तु राज्यको राजधानी, शाक्य वंशीय राजा शुद्धोधनका दरबार तथा राजकुमार सिद्धार्थले आफ्नो जीवनको प्रारम्भिक २९ वर्ष व्यतित गरेको पवित्र स्थल हो । तिलौराकोट सदरमुकाम तौलिहवा देखि ३ कि.मि. उत्तरपश्चिममा वाणगंगा (भागीरथी) नदीको पूर्वीय तटमा अवस्थित यस स्थानमा प्राचिन पुरातात्विक भगनावशेषहरु रहेका छन् ।

भगवान बुद्धका पिता राजा शुद्धोधनको राजप्रासाद रहेको यसै स्थानमा आजभन्दा २५५५ वर्ष पुर्व भगवान बुद्धले आमा मायादेवीको गर्भमा बास गरेका थिए र लुम्बिनीमा जन्म भई तिलौराकोटमा २९ वर्षे जीवनयापन गरेको यो स्थान हो । जहाँ पुरातात्विक आधारहरु प्रशस्त रहेका छन् । उत्तर दक्षिण १७०० फिट लामो र पुर्व पश्चिम १३०० फिट चौडा र ८ देखि १२ फिटसम्म चौडा पर्खाल भएको प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटमा विभिन्न समयमा गरिएका उत्खननबाट तीनवटा भग्वावशेष स्पस्ट रुपमा देखिन्छन् । ती भग्नावशेषहरुमा पश्चिमीद्वारको रुपमा परिचित भागमा उत्खनन हुँदा दुबै तर्फ बुर्जाहरुका साथै ईट छापिएको १९ फीट चौडा बाटोको दुबैतर्फ बलिहरु छन् । राजा शुद्धोधनको दरबार, सुरक्षा पर्खाल, पोखरी, यशोधरा राहुल विहार, सिद्धार्थ गौतमको पाठशाला, तत्कालिन देव मन्दिर रहेका छन् भने उत्खननबाट ताम्र मुद्दा अन्य धातुका वस्तुहरु प्राप्त भएका छन् । शुद्धोधनको राजमहल (Palace Complex) उत्खनन गर्दा कुशाङ, मौर्य, सुङ्गा कालका सिक्काहरु, Grey Ware भाडाका टुक्रा र तत्कालिन हतियार र गाग्रीहरु फेला पारेका थिए भने भगवान गौतम बुद्धले सांसारिक जीवन त्याग गरी ज्ञान प्राप्तीका लागि आफ्नो राजदरबार त्याग गरी गएको पुर्वीद्वारको रुपमा परिचित महाभिनिष्क्रर्मण द्वार उत्खनन हुँदा १९ फीट चौडा बाटो, दायाँ बायाँ दुई बुर्जाहरु, माला, गुटिका, चुरा र ब्राह्मी अभिलेखयुक्त मोहर छाप प्राप्त भएका छन् । भारत, जापान, युनेस्को तथा नेपालका पुरातत्वविदहरुबाट पटक पटक गरिएको उत्खननले पूर्वपश्चिम प्रवेशद्वार बीचमा राजप्रसादको केही खण्ड तथा पुर्वपश्चिम र दक्षिण तर्फ सुरक्षा पर्खालहरु उत्खनित भैसकेका छन् । अझै प्रशस्त प्राचीन अवशेषहरु उत्खननको पर्खाइमा रहेका छन् । विरुद्धकद्वार विध्वंस गरिएको प्राचीन कपिलवस्तु तिलौराकोट भगनावशेषको रुपमा रहेको छ । यसके चारैतर्फ अति महत्वपुर्ण स्तुपहरु रहेका छन् । पूर्वदक्षिण तर्फ सुरक्षा नहर (खाई) समेत रहेको पाइन्छ ।

जोडा स्तुप:

धननिहवाको नामले प्रसिद्ध यो स्तुप प्राचीन ईटाद्वारा निर्माण गरिएको छ । राजा शुद्धोधन र महारानी मायादेवीको स्मृतिमा निर्माण गरिएको यी स्तुपको उत्खनन कार्य तथा संरक्षण कार्य भैसकेको छ । ठूलो स्तुपको ठीक आधा भागमा सानो स्तुप रहेको छ । उक्त स्थान तिलौराकोट देखि उत्तरमा पर्छ ।

कपिलवस्तुका स्थानीय तहहरु

१. कपिलवस्तु नगरपालिका

२. बाणगंगा नगरपालिका

३. बुद्धभूमि नगरपालिका

४. शिवराज नगरपालिका

५. कृष्णनगर नगरपालिका

६. महाराजगंज नगरपालिका

७. शुद्धोधन गाउँपालिका

८. मायादेवी गाउँपालिका

९. यशोधरा गाउँपालिका

१०. विजयनगर गाउँपालिका

राजनैतिक विभाजन :  संघीय संसदका लागि ३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र साथै ६ नगरपालिका ४ गाउँपालिका गरी १० स्थानीय तह

 

स्थानीय तहहरुको सीमाना सहितको कपिलवस्तु जिल्लाको नक्सा

Map: Not in Scale

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

 

भू–क्षेत्र टोपोग्राफि, भिरालोपन : 

उत्तरमा चुरे पर्वतको श्रृङ्खलामा पर्ने चारकोसे झाडि र दक्षिणमा तराईको समथर भूमी तथा अनेकौं नदीनाला, अमूल्य वन सम्पदा र वन्य जन्तुहरु समेत प्रशस्त पाइने यस जिल्लालाई भू वनावटका आधारमा तीन भागमा बाँड्न सकिन्छ ।

क) उत्तरी भागको चुरे डाँडा : समुद्री १००० फिटसम्मको उचाइमा रहेको यो पहाड पूर्व-पश्चिम तर्फ फैलिएर बसेको छ ।

ख) मध्य भागको भावर क्षेत्र : यस जिल्लाको चुरे पहाडको फेदीबाट विस्तारै भिरालो पर्दै दक्षिणतिर यो क्षेत्र पर्दछ ।

ग) दक्षिणको समथर भूमि  : भावर क्षेत्र देखि दक्षिणमा भारत सम्म सिमाना जोडिएको भूभागसम्मको समथर भूमी यस क्षेत्रमा पर्दछ । यसको उचाई समुद्रको सतहबाट अधिकतम ७०० फिट पर्दछ । बाणगङ्गा नदीले यस जिल्लालाई २ भागमा विभाजित गरेको छ ।

 

मुख्य मुख्य प्राकृतिक, पुरातात्विक, ऐतिहासिक,  सांस्कृतिक सम्पदाहरु

नदीनाला : वाणगंगा, अर्रा, अगिया, कोईली, सुराई, चिराई, गुडरुङ, जमुवार आदि ।

ताल : जगदिशपुर ताल, सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी ताल आदि ।

पुरातात्विक तथा ऐतिहासिक स्थलहरु : तिलौराकोट, कुदान, गोटिहवा, सगरहवा, निग्लिहवा, डेरवा, सारकुप, अरौराकोट, सिसहनिया आदि ।

सांस्कृतिक सम्पदाहरु : समयमाई, ताम्रेश्वरनाथ महादेव, शिवगढी, रामघाट, लक्ष्मणघाट आदि ।

चाडपर्व: दशैं, तिहार, फाल्गुण पुर्णिमा, रामनवमी, शिवरात्री, चैते दशैं, तिज, मकर सक्रान्ति, मोहर्म, ईद, बकर ईद आदि ।

मेला : रामघाट मेला, लक्ष्मणघाट मेला, रामलिला मेला, थारु पर्व, शिवगढी मेला, हथौसा मेला आदि ।

व्यापारिक स्थानहरु : तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी, लवनी आदि ।